कांग्रेसलाई ‘अन्तरघात गर्नेको’ सूचीमा सांसददेखि त्रिविका उपकुलपतिसम्म

नेपाली कांग्रेसले दर्जनौं नेता कार्यकर्ताहरुलाई कारबाही प्रक्रिया अघि बढाएको छ । बिभिन्न जिल्लाबाट प्राप्त उजुरीका आधारमा कांग्रेसले कारवाही थालेको हो ।कारवाहीको प्रक्रिया भने स्पष्टीकरणबाट शुरु भएको छ । अन्तरघात गरेको आरोपमा स्पष्टीकरण सोधिएकाहरुमा बहालवाला र पूर्व सांसददेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँसम्म छन् ।

उजुरीको सूचीमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका सभापति कर्णबहादुर मल्ल समेत परेका छन् । उनको देउवा पत्नी आरजु राणा देउवासँग लामो समयदेखि द्वन्द्व चलिरहेको छ ।

बिभिन्न जिल्लाबाट अन्तरघातका २ सय बढी उजुरी अनुशासन समितिमा परेका छन् । उजुरी परेकाहरुलाई सात दिने स्पष्टीकरण सोधिएको छ । ‘पत्र प्राप्त भएको मितिले सात दिनको लिखित स्पष्टीकरण मागिएको छ, त्यसपछि थप प्रक्रिया अघि बढ्छ,’ कांग्रेस अनुशासन समितिका एक सदस्यले  भने ।

क-कसलाई सोधियो स्पष्टीकरण ?

स्पष्टीकरण सोधिएकाहरुमा नुवाकोटका जिल्ला सभापति एवम् सांसद जगदिश्वरनरसिंह केसी, रुकुमकी सांसद मिठु मल्ल, जुम्लाका सांसद ललितजंग शाही, जुम्लाका पूर्वकेन्द्रीय सदस्य तथा पूर्व सांसद दिनबन्धु श्रेष्ठ छन् ।यसैगरी जुम्लाकै जिल्ला सभापति जितबहादुर शाही, दैलेखका जिल्ला सभापति कृष्ण बिसी र डडेलधुराका जिल्ला सभापति कर्ण मल्ल पनि छन् । यसैगरी चितवनका पूर्वसांसद तिर्थ भुसाल र चितवन घर भएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थराज खनियाँसँग पनि स्पष्टीकरण सोधिएको छ । खनियाँ कांग्रेस महासमिति सदस्य हुन् ।

असोज १० गतेभित्र उजुरी दिन सकिने

मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय अनुशासन समितिका अध्यक्ष रमेश रिजालको अध्यक्षतामा बसेको बैठकले उजुरी परेकाहरुसँग स्पष्टीकरण माग्ने निर्णय गरेको हो । बैठकले पहिलो र दोस्रो चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेका प्रदेश नम्बर १, ३, ४, ५, ६ र ७ मा पार्टीका कुनै सदस्यले आधिकारिक उम्मेदवारविरुद्ध असहयोग र अन्तर्घात गरेको भए असोज १० गतेभित्र उजुरी दिन पनि आह्वान गरेको छ ।

अनुशासन समितिको सचिव पदमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव एवम् अधिवक्ता केशव रिजाल नियुक्त भएका छन् ।

२०७४ भदौ २७ गते 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »