नाकको शल्यक्रिया गर्दा महिलाको मृत्युपछि ओम अस्पताल तनावग्रस्त

ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा  एक बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले अस्पतालमा नाराजुलुस लगाएका छन् । बुधबार दिउँसो बुटवलकी ४० वर्षिय कमला भट्टराईको  मृत्यु  भएको हो । उनी चारदिनअघि (शनिबार अस्पताल) भर्ना भएकी थिइन्, उनी नाकको कुरकुरै हाड सोझ्याउन आएकी थिइन् । मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । जन्मजातै उनको नाक थोरै बांगो थियो, दुख्नेघोच्ने केही हुन्थेन बुझ्न जाँदा डाक्टरले सामान्य शल्यक्रिया गर्नुपर्छ भन्यो मृतकका श्रीमान बसन्त भट्टराईले भने । कमलाको उपचारमा अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. राजेन्द्रप्रसाद गुरागाईं संलग्न थिए ।

शल्यक्रिया पश्चात बिरामीको नाकबाट निरन्तर रगत बगिरहेको, बारम्बार बान्ता भएको, पिसाब रोकिएको मृतकका आफन्तले बताए । रगत नरोकिएपछि हामीलाई डेढ लाखको औषधि किन्न लगाए डाक्टरले अत्याधिक औषधिकै कारण मृगौला फेल भयो पनि भने, मृतकका आफन्त विदुर दाहालले भने, ‘शल्यक्रियापछिको  उपचारपछि डाक्टरले कहिले संक्रमण कहिले हृदयघात भएको खबर दिइरहेको दाहालले सुनाए ।शल्यक्रियापछि उनी आधा होशमा मात्रै थिइन्,  बर्बराइरहेकी थिइन्, ‘श्रीमान वसन्तले भने,‘ हामीलाई मृत्युको स्पष्ट कारण दिनुपर्छ, नत्र हामी  डाक्टरलाई कानुनी कारबाही गर्छौं ।’ बिरामीको मृत्युबारे छानबिन गर्नुपर्ने, अस्पतालले आफ्नो लापरबाही स्विकारेर माफी माग्नुपर्ने मृतकका आफन्तहरुको माग छ । माग पुरा नभए आन्दोलनमा जाने उनीहरुले बताएका छन् । बिरामीको मृत्यु भएसंगै आफन्तहरुले अस्पताल परिसर घेरेका छन् । यता अस्पताल प्रशासनले भने कमलाको उपचारमा डाक्टरको लावरवाही अस्विकार गरेका छन् । ‘नाकको  शल्यक्रिया सुन्दा सामान्य लागेतापनि यो संवेदनशिल अंग हो, यसको शल्यक्रियामा इन्फेक्सन बढी हुन्छ, कहिलेकाहीँ बिरामीलाई बचाउन सकिदैनँ,’ अस्पताल प्रसाशन प्रमुख बिनय प्याकुरेलले भने । मृतकका आफन्तलाई डाक्टरको लावरवाही जस्तो लागे छानबिन गरि कानुनी प्रक्रिया अघि बढाउन उनले आग्रह गरेका छन् । अस्पतालका निर्देशक डा.जागेश्वर गौतमले भने, ‘सानो शल्यक्रियामा बिरामीको मृत्यु भयो, यस्तो घटना निकै कम हुन्छ, हामीलाई पनि दुःख लागेको छ ।’ घटनाको छानबिन गरि कारबाही अघि बढाउछौं भनी डा. गौतमले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »