५० लागे अक्षय, कुनै बेला राजेश खन्नासँग काम माग्न गएका थिए

मुम्बई । बलिउड अभिनेता अक्षय कुमार ५० वर्ष लागेका छन् । राजीव हरी ओम भाटियाबाट अक्षय कुमार भएका उनको जन्म सन् १९६७ मा पञ्जाबको अमृतसरमा भएको थियो ।

अक्षयले सन् १९९१ मा ‘सौगन्ध’ बाट अभिनय सुरु गरेका थिए । सन् १९९२ मा बनेको खिलाडीबाट उनी स्थापित भएका थिए ।

मै खिलाडी तु अनाडी, मोहरा, अजनबी, हेराफेरी, धड्कन, वक्त नमस्ते लण्डन, हे बेबी, भूल भुलैया उनका चर्चित फिल्म हुन् ।

१०० भन्दा बढी फिल्ममा अभिनय गरेका अक्षयले हिन्दी फिल्म उद्योगका केही ठूला पुरस्कार पाएका छन् । सन् २००९ मा पद्यमश्री अवार्ड पाएका थिए भने ‘रुस्तम’ बाट नेशनल अवार्ड पाएका थिए ।

अहिले अक्षय कुमार बलिउडका ठूला स्टार हुन्, स्टारका ज्वाई हुन् भने स्टारका श्रीमान । अहिले सयौ ब्यक्ति उनकोमा काम माग्न आउछन् । कुनै समय यस्तो पनि थियो अक्षय आफैं काम माग्न जान्थे ।

भारतीय मिडियाले उल्लेख गरे अनुसार कुनै वेला दिवंगत अभिनेता राजेश खन्नाको घरमा काम माग्न गएका थिए । खन्ना ‘जय शिब शंकर’ नामको फिल्म निर्माण गर्ने तयारीमा थिए । सोही फिल्ममा काम पाइन्छ कि भन्दै अक्षय गएका थिए ।

जुन दिन उनी राजेश खन्नाको घरमा काम माग्न गएका थिए, खन्नासँग उनको भेट भएन । उनले अभिनय गर्न चाहेको भुमिकामा चंकी पाण्डे देखिए ।

फिल्म नपाए पनि खन्नाकी छोरी ट्वींकलको मनमा बस्न भने अक्षय सफल भए । सन २००१ मा अक्षय र ट्वीकलको विवाह भएको थियो । अहिले उनीहरुको एक छोरा एक छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »